सिरहाको गोलबजार नगरपालिका–३, जमनटोकी नजिक आइतबार राति भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार, गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको हो।
दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको छ। साथै, १७ वर्षीय धिरज मण्डल घाइते भएका छन् र उनको विराटनगरमा उपचार भइरहेको छ।
घटनामा मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
