काठमाडौं – अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानका प्रमुख शहरहरूमा व्यापक प्रदर्शन र हिंसा भड्किएको छ।
आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विशेषगरी शिया समुदायको बाहुल्यता भएका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिँदा सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो।
कराँचीमा १०, स्कार्दुमा ८ र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन्। इस्लामावादको रेड जोन नजिक हजारौं प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध चर्को नाराबाजी गरेका थिए। केहीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। इस्लामावादको सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ।
कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट तोडफोड गर्दा अवस्था नियन्त्रण बाहिर गएको थियो। सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले यस घटनालाई अत्यन्त दुःखद भन्दै निष्पक्ष छानबिनको आदेश दिएका छन्।
उत्तरतर्फको पहाडी क्षेत्र गिल्गिट-बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि तीन दिनका लागि कर्फ्यू लगाइएको छ।
पाकिस्तान सरकारले इरानमाथि भएको आक्रमणको निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कदम नचालेको भन्दै आक्रोश पोखेका छन्। यसैबीच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई भिडभाड हुने क्षेत्रमा नजान सचेत गराएको छ।
सन् १९७९ मा पनि यस्तै अफवाहका कारण अमेरिकी दूतावासमा आगजनी भएको थियो। लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौं मानिस सडकमा उत्रिएर खामेनीको मृत्युमा शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
