इरानमा जारी सैन्य कारबाहीका क्रममा तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी पक्षले जनाएको छ।
अमेरिकाले इरानमाथिको उक्त सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड United States Central Command (सेन्टकम) ले आइतबार बिहान सामाजिक सञ्जालमार्फत तीन सैनिक मारिएको जानकारी दिएको बताइएको छ। उक्त विवरणलाई CNN ले पनि उल्लेख गरेको छ।
सेन्टकमका अनुसार कारबाहीमा पाँच सैनिक गम्भीर घाइते भएका छन् भने अन्य केही सैनिक सामान्य घाइते भएका छन्। सामान्य घाइते सैनिकहरूलाई उपचारपछि पुनः ड्युटीमा फर्काइने जनाइएको छ।
‘ठूला कारबाहीहरू जारी छन्। हाम्रो प्रतिकार प्रयास निरन्तर भइरहेको छ,’ सेन्टकमले जनाएको छ। अवस्था संवेदनशील रहेकाले मृतक सैनिकहरूको नाम तथा थप विवरण आफन्तलाई जानकारी गराएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने बताइएको छ।
ती सैनिकहरू कसरी मारिए भन्ने विषयमा भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, इरानले आफूविरुद्ध सुरु भएको आक्रमणको जवाफस्वरूप शनिबारदेखि क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको दाबी गरिएको छ।
यसअघि अमेरिकी राष्ट्रपति Donald Trump ले सार्वजनिक भिडियो सन्देशमार्फत सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकको ज्यान जान सक्ने चेतावनी दिएका थिए।
उता, इरानमा संयुक्त कारबाहीका क्रममा सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरिएको छ। यद्यपि, यस सम्बन्धमा स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
