अमेरिकाको Texas राज्यको राजधानी Austin मा आइतबार बिहान एक बियर गार्डनबाहिर भएको गोलीकाण्डमा दुई सर्वसाधारणको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारी मारिएसँगै कुल मृतकको संख्या तीन पुगेको छ।
Federal Bureau of Investigation (एफबीआई) ले यो घटना आतंकवादसँग सम्बन्धित हुन सक्ने आशंकामा गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ। अस्टिनका प्रहरी प्रमुख लिसा डेभिसका अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे Buford's Bar बाहिर घटना भएको थियो।
प्रहरीका अनुसार एउटा ठूलो एसयूभी गाडीमा आएका बन्दुकधारीले सुरुमा गाडीको झ्यालबाट पेस्तोल प्रयोग गरी बाहिर बसिरहेका मानिसहरूमाथि गोली चलाएका थिए। त्यसपछि गाडी पार्किङ गरी राइफलसहित पुनः बारतर्फ आउँदै गर्दा तीनजना प्रहरी अधिकारीले उनलाई बाटोमै रोकेर गोली हानी मारेका थिए। प्रहरी र उद्धार टोलीले सूचना पाएको ५७ सेकेन्डभित्रै कारबाही सुरु गरेका कारण थप क्षति हुन नपाएको दाबी गरिएको छ।
मारिएका संदिग्धको पहिचान सेनेगलमा जन्मिएका अमेरिकी नागरिक एनडियागा डियानका रूपमा गरिएको छ। अनुसन्धानमा संलग्न स्रोतहरूका अनुसार उनले “प्रोपर्टी अफ अल्लाह” लेखिएको स्वेटसर्ट लगाएका थिए। एफबीआईको स्यान एन्टोनियो कार्यालयका प्रतिनिधि एलेक्स डोरानले संदिग्धको गाडी र शरीरबाट भेटिएका केही संकेतहरूले घटनाको सम्बन्ध आतंकवादसँग हुन सक्ने प्रारम्भिक संकेत दिएको बताएका छन्। यद्यपि, अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप विवरण सार्वजनिक गरिएको छैन।
घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार घटनास्थलमा मानिसहरू रगताम्मे अवस्थामा ढलेका थिए, जसले गर्दा त्यहाँको वातावरण अत्यन्त त्रासपूर्ण बनेको थियो। उक्त क्षेत्र University of Texas at Austin का विद्यार्थीहरूबीच लोकप्रिय मानिन्छ।
यस घटनाबारे अमेरिकी राष्ट्रपति Donald Trump लाई जानकारी गराइसकिएको छ। टेक्ससका गभर्नर Greg Abbott र सिनेटर Ted Cruz ले हिंसात्मक घटनाको कडा निन्दा गर्दै प्रहरीको द्रुत प्रतिक्रियाको प्रशंसा गरेका छन्।
युनिभर्सिटीका अध्यक्ष जिम डेभिसले पनि पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
