काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टीको गोकर्णेश्वर नगर कमिटीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ।
नगर कमिटीले २०८२ फागुन १७ गते जारी गरेको विज्ञप्तिमा देशको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै घिसिङको राष्ट्र निर्माणप्रतिको समर्पण र विकासप्रेमी छविलाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ।
विज्ञप्तिमा पार्टीका सबै तहका नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई घिसिङको पक्षमा सक्रिय चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा सहभागी हुन आग्रह गरिएको छ। साथै, फागुन २१ गते हुने मतदानमा ‘बलेको चिम’ चुनाव चिन्हमा मत दिई घिसिङलाई विजयी गराउन अपिल गरिएको छ।
उक्त विज्ञप्तिमा नगर कमिटीका सचिव तारानाथ पुरी, अध्यक्ष नीर कार्की (रवी) र उपाध्यक्ष सुनील लामाको हस्ताक्षर रहेको छ।
