काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली सेनाले आफ्नो सुरक्षा जिम्मेवारी स्पष्ट पारेको छ। सेनाले तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने जनाएको छ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा निर्वाचन सुरक्षा सम्बन्धी सबै कार्यहरू “प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४” र “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२” अनुसार सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, मतदान समापनपछि स्थापित प्रोटोकल बमोजिम मतपेटिका ढुवानी गरिनेछ। यस क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेनासहितको एकीकृत टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउनेछ।
सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि नै निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, सम्बद्ध निकायहरूसँगको समन्वयमा आसन्न निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
