मोरङ – निर्वाचन प्रचारका क्रममा हिँडेको एउटा गाडी साढे ४ लाख रुपैयाँसहित मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार, रतुवामाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले गाडी रोकेर प्रहरीलाई जानकारी दिएका थिए। गाडीमा कांग्रेसका प्रचार सामग्री र ४ लाख ४९ हजार रुपैयाँ भेटिएको थियो। चालकले रकम आफ्नो व्यक्तिगत भएको बताएका थिए।
प्रहरीले प्रारम्भिक छानबिनपछि तीन जनालाई नियन्त्रणमा लिइए पनि पछि छोडिएको र पैसा तथा गाडी निर्वाचन कार्यालयमा बुझाइएको छ। निर्वाचन अधिकृत रूद्र आचार्यले थप छानबिन प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।
मोरङ–२ क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजाल, एमालेका दिलिपकुमार अग्रवाल, नेकपाका चन्द्रवीर राई र रास्वपाका कृष्ण कुमार कार्की उम्मेदवार छन्।
