काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केही राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै प्रचार–प्रसार गरिरहेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
पार्टी केन्द्रीय कार्यालयले जारी विज्ञप्तिमा भनेको छ कि निर्वाचन प्रचारका क्रममा भौतिक चुनाव चिन्हको खुलेआम प्रयोग, बालबालिकालाई चुनावी कार्यक्रममा सहभागी गराउने र राष्ट्रिय झण्डाको गलत प्रयोग भइरहेको छ। कांग्रेसका अनुसार यस्ता गतिविधिले निर्वाचनको निष्पक्षता र आचारसंहिता कार्यान्वयनमाथि प्रश्न उठाएको छ।
साथै पार्टीले सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाउने प्रयास भइरहेको दाबी गर्दै आयोगलाई तत्काल अनुगमन र नियन्त्रण गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले ध्यानाकर्षण पत्र बुझाउँदै निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र र भयमुक्त बनाउन आचारसंहिताको कडाइका साथ पालनाको आग्रह गरेका छन्।
कांग्रेसले सबै राजनीतिक दल र उम्मेदवारले आचारसंहिता पूर्ण रूपमा पालना गर्नु आवश्यक भएको र त्यसो भए मात्र निर्वाचन परिणामप्रति जनविश्वास कायम रहने बताएको छ।
