काठमाडौँ – सरकारले हालको मध्यपूर्व संकटको अवस्थामा नेपालीहरूलाई सजग र सतर्क रहन आग्रह गरेको छ। अमेरिका र इजरायलको इरानमाथिको आक्रमण तथा इरानको प्रत्याक्रमणले उत्पन्न सुरक्षा जोखिमका कारण सरकारले सचेत रहन आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्वका नेपालीहरू हाल सुरक्षित रहेका तर आवश्यक सावधानी अपनाउन र घरभित्रै बस्ने, सतर्क रहने, आफ्नो समुदायसँग नियमित सम्पर्कमा रहने सल्लाह दिएका छन्।
इरानले कतार, साउदी अरब, बहराइन, यूएई र कुवेतमा रहेका अमेरिकी सैन्य क्याम्पमाथि आक्रमण गरेपछि ती देशमा सुरक्षा जोखिम बढेको छ। यसका कारण त्यहाँका नेपाली दूतावासहरूले स्थानीय कानूनको पालना गर्न, सुरक्षा निर्देशहरूको पालन गर्न र अपुष्ट वा भ्रामक सामग्री फैलाउन नगर्न आग्रह गरेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूका लागि दूतावासले दोस्रो सुरक्षा एडभाइजरी जारी गर्दै सामाजिक सञ्जालमा फोटो, भिडियो वा अज्ञात स्रोतको सूचना सावधानीपूर्वक प्रयोग गर्न अपिल गरेको छ।
खाडी क्षेत्रमा करिब १९ लाख नेपाली कार्यरत छन्। सबैभन्दा धेरै यूएईमा (९ लाख), साउदी अरबमा (३ लाख ८४ हजार), कतारमा (३ लाख ६० हजार), कुवेतमा (१ लाख ७५ हजार), बहराइनमा (३० हजार) र ओमानमा (२५ हजार) रहेका छन्। इराकमा २५ हजार, इजरायलमा ५ हजार, र लेबनानमा १ हजार नेपाली बसोबास गर्छन्।
