हुम्ला । हिमपातका कारण स्थलमार्ग अवरुद्ध भएपछि हुम्लाका चार वटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र मतपत्रलगायतका सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीका भृकुटी आधारभूत विद्यालय (जाङ), सुनखानी आधारभूत विद्यालय (हल्जी), हिमशिखर आधारभूत विद्यालय (तील) तथा नाम्खा गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय (चाला) मतदान केन्द्रमा आवश्यक जनशक्ति र सामग्री हवाइमार्गबाट पठाइने प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।
उनका अनुसार ती चार केन्द्रका लागि २० जना कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित करिब ८० जना सुरक्षाकर्मी गरी कुल १०२ जना जनशक्ति र निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनभित्र हेलिकप्टरबाट ओसारिनेछ। यसका लागि निर्वाचन आयोगसँग गरिएको अनुरोध स्वीकृत भइसकेको उनले बताए।
लिमी जाने नारा र न्यालु लेक नाकामा बाक्लो हिउँ जमेकाले सडक पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, चाला जाने घोडेटो बाटोसमेत हिउँले अवरुद्ध भएपछि हेलिकप्टरको विकल्प रोजिएको हो। भौगोलिक विकटताका कारण यी मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा वर्गीकरण गरेको छ।
मतदाता संख्याअनुसार सुनखानी आधारभूत विद्यालय (हल्जी) मा २९३, भृकुटी आधारभूत विद्यालय (जाङ) मा २४७, हिमशिखर आधारभूत विद्यालय (तील) मा १३२ र हिमालय आधारभूत विद्यालय (चाला) मा १५९ मतदाता रहेका छन्। हाल यीमध्ये धेरै मतदाता जिल्ला बाहिर तथा चीनको ताक्लाकोट क्षेत्रमा रहेको जनाइएको छ। उनीहरूलाई मतदानका लागि लिमी पुर्याउन सडक खुलाउने प्रयाससमेत भइरहेको प्रशासनले जनाएको छ।
