काठमाडौं — प्रधानमन्त्री सुशीला कार्की सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ ले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले राजदूतले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिन्।
राजदूत माओमिङले व्यस्तताका बीच भेटका लागि समय उपलब्ध गराएकोमा धन्यवाद दिँदै नेपालमा शान्ति, सुरक्षा र कानुनको शासन कायम गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सुनिश्चित गरिएकोमा बधाई व्यक्त गरे। उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए।
प्रधानमन्त्री कार्कीले निर्वाचनजस्ता लोकतान्त्रिक प्रक्रियामा चीनबाट प्राप्त सदासयता र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै विकासका विभिन्न परियोजनामा प्राप्त सहकार्यका अवसरप्रति नेपाल र नेपाली जनताका तर्फबाट आभार प्रकट गरिन्।
भेटका क्रममा दुवै पक्षले नयाँ वर्ष (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान गरेका थिए। प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तमा अडिग रहेको, ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको र छिमेकी मुलुकको अहितमा कुनै गतिविधि हुन नदिने स्पष्ट नीति रहेको दोहोर्याइन्।
क्षेत्रीय शान्ति र स्थायित्वका लागि आपसी सहकार्य सुदृढ बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन्। राजदूत माओमिङले नेपाल सरकारको उक्त अडानप्रति चिनियाँ जनता र राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।
