चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन्।
चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र केही नेताको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए। किसानले बजार र मूल्य नपाउँदा यस्तो अवस्था आएको भन्दै उनले यो प्रवृत्ति अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए।
नेपालमै उत्पादन हुने सस्तो विद्युत् प्रयोग गरी सस्तो कोल्ड स्टोर निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सिजनमा सस्तो हुने तरकारी भण्डारण गरेर अभावको समयमा समान मूल्यमा बिक्री गर्न सके किसान र उपभोक्ता दुवै लाभान्वित हुने धारणा राखे।
शाहले कृषि र पर्यटन क्षेत्रमा देखिएका चुनौती समाधानका लागि स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए। “एउटा जिल्लाको समस्या अर्को जिल्लाको अनुभवबाट समाधान हुन सक्छ, त्यसलाई बुझेर काम गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,” उनले भने।
देशको औद्योगिक अवस्थाबारे टिप्पणी गर्दै उनले नेपाल मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएको कारखाना जस्तो बनेको बताए। उद्योग–कलकारखाना पूर्ण रूपमा सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
रास्वपाले देशभर उद्योग सञ्चालन र उत्पादन विस्तार गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ अघि बढ्ने उनले स्पष्ट पारे।
