काठमाडौं — लगानी बोर्ड नेपाल का प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली ले डिजिटल अर्थतन्त्रबाट अधिकतम लाभ लिन रणनीतिक र दीर्घकालीन लगानी अपरिहार्य रहेको बताएका छन्।
भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीमा व्यापक सम्भावना रहेको उल्लेख गरे। ती सम्भावनालाई मूर्त रूप दिन योजनाबद्ध पूर्वाधार विकास र दीर्घकालीन लगानी आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल डिजिटल अर्थतन्त्रका लागि तयार रहेको बताउँदै उनले सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ सहित आवश्यक कानुनी, नीतिगत तथा संस्थागत संरचना विकास गरिसकेको जानकारी दिए। आर्टिफिसियल इन्टेलिजेन्सलगायत उदीयमान प्रविधिका लागि सस्तो ऊर्जा उपलब्धता, प्रविधिमैत्री युवा जनशक्ति र उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्राकृतिक कूलिङ प्रणालीको सम्भावनाले डेटा सेन्टर र आईटी पार्क जस्ता क्षेत्रमा नेपाललाई आकर्षक गन्तव्य बनाउन सक्ने उनले बताए।
ज्ञवालीले डिजिटल इकोनोमी र आईटी क्षेत्रमा लगानी विस्तारका लागि नेपाल र भारत सरकारसँगै निजी क्षेत्रबीच व्यवस्थित र समन्वित पहल आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा तथा नेपालका लागि भारतका पूर्व राजदूत मञ्जिव सिंह पुरी लगायत विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
