कालीकोट — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थको जथाभावी बिक्री वितरणमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेल बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री गर्न पाइने छैन। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार इन्धन बिक्री गर्ने सबै पेट्रोल पम्प तथा व्यवसायी सम्बन्धित निकायमा दर्ता भई सञ्चालन भएको हुनुपर्नेछ। दर्ता नभएका व्यक्ति वा संस्थालाई पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न निषेध गरिएको छ।
तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्री, कृत्रिम अभाव सिर्जना, अनावश्यक मौज्दात राख्ने वा निर्वाचनबाहेक अन्य प्रयोजनमा इन्धन दुरुपयोग गर्न नपाइने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
एम्बुलेन्स, अस्पताल, सुरक्षा निकाय तथा निर्वाचन प्रयोजनका सवारीसाधनजस्ता अत्यावश्यक सेवामा संलग्न सवारीलाई मात्र सम्बन्धित निकायको सिफारिस वा आधिकारिक परिचयपत्रका आधारमा आवश्यक परिमाणमा इन्धन उपलब्ध गराइनेछ।
प्रशासन, सुरक्षा निकाय र नेपाल आयल निगम को समन्वयमा नियमित तथा आकस्मिक अनुगमन गरिने जनाइएको छ। निर्णय उल्लङ्घन गरेमा जरिवाना, इजाजतपत्र निलम्बन वा खारेजसहित कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
पेट्रोलियम व्यवसायी, ढुवानी व्यवसायी तथा आमनागरिकलाई निर्णयको पालना गर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
