दमक — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चित गर्न नसकेको बताएका छन्। शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’ कार्यक्रममा अध्यक्ष ओलीले मुलुक संकटतर्फ धकेलिएको बताए।
उनले उल्लेख गरे कि सार्वभौम संसदलाई बलपूर्वक विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको छ। ओलीले एमाले चुनावबाट नभाग्ने भएकाले देशभरि पार्टी चुनावमा केन्द्रित रहेको र आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरे।
अध्यक्ष ओलीले चुनावमा हुने कुनै पनि धाँधली एमालेलाई स्वीकार्य नहुने भन्दै सरकार निष्पक्ष निर्वाचन सुनिश्चित गर्न गम्भीर नदेखिएको टिप्पणी गरे। उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलिने भ्रममा नपर्न र सत्य जानकारी फैलाउने काममा सक्रिय हुन आग्रह गरे।
कार्यक्रममा उपस्थित विद्यार्थीहरूले अध्यक्ष ओलीसँग उठाएका जिज्ञासाहरूको उत्तर दिँदै उनले कुनै पनि पार्टीको भूमिका त्यसको सिद्धान्त, कार्यक्रम र एजेन्डाले निर्धारण गर्ने र एमालेका कार्यक्रम तथा सिद्धान्तहरू जनता माझ पुर्याउन सबैलाई सहयोग गर्न सुझाव दिएका छन्।
