काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किने युवा नेपालीको चहलपहल बढेको छ। धेरै युवा भोट दिनकै लागि विदेशबाट फर्किएका छन्। यसपटक उनीहरूमा केवल मतदानको लागि नभई, नयाँ सरकारले रोजगारीका लागि विदेशिन नपर्ने वातावरण बनाउने आशा पनि देखिएको छ।
सिरहाका अजयकुमार यादव १७ वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा थिए। कम्पनीले छुट्टी नदिएपछि भोट दिन भिसा रद्द गरेर नेपाल फर्कनुभएको उनले बताए। उहाँले विदेशमा कठिन जीवन बिताएको अनुभव सुनाउँदै भन्नुभयो, “४२–४५ डिग्री घाममा काम गर्नु, साहुको हेपाइ सहनु र परिवारको आवश्यक खर्च धान्नु ठूलो चुनौती थियो। यदि देशमै अवसर भए विदेश जाने आवश्यकता हुन्थेन।” यादवको विश्वास छ कि चुनावपछि नयाँ सरकारले परिवर्तन ल्याउनेछ र छोराछोरीले सहज जीवन पाउनेछन्।
मोरङका सागर श्रेष्ठ पनि चुनावका लागि कतारबाट ६ महिनाको बिदा लिएर नेपाल फर्किएका छन्। उहाँले भन्नुभयो, “परदेशमा बिहान उठ्ने, काममा जाने, फर्कने र सुत्ने मात्रै दिनचर्या हुन्छ। कहिलेकाहीँ भोकै काम गर्नुपर्छ, कहिलेकाहीँ खाने समय पक्का हुँदैन। यदि भ्रष्टाचार रोकियो भने नेपालमै रोजगारीका अवसर सिर्जना हुन सक्छ।”
सङ्खुवासभाका सन्तोष तामाङ र दाङका दुर्गाबहादुर खड्का पनि चुनावका लागि आपत्कालीन बिदा लिएर स्वदेश फर्किएका छन्। तामाङले भन्नुभयो, “नेपालमा अवसर नहुँदा बाध्य भएर विदेश जानुपरेको हो। तर आफ्नो देशप्रति गर्व लाग्छ।” खड्काले भने, “वैदेशिक रोजगारी सजिलो छैन। सामान्य स्वास्थ्य समस्या हुँदा पनि आराम पाउन सकिन्न। कम्पनीले काम नगरे तलब कटौती गर्छ।”
यूएईमा काम गर्दै आएका बर्दियाका विनोद बुढाक्षेत्रीले एक महिनाको बिदा पाए पनि कम्पनीले अनुमति नदिएपछि फेरि फर्कनु परेको अनुभव सुनाए। उहाँले भने, “नेपालमै काम र तलब पर्याप्त भए विदेश जानुपर्ने थिएन। विदेशमा पैसाको सुविधा भए पनि परिवारसँग बस्न सकिँदैन।”
स्वदेश फर्किने नेपालीहरू भोट दिन खुशी भए पनि रोजगारी र आर्थिक असुरक्षाले विदेशी जीवनमा बाध्य बनाएको देखिन्छ। उनीहरू चुनावपछि नयाँ सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग–कलकारखाना खोल्ने र भ्रष्टाचार रोक्ने आशामा छन्। यी अनुभवले चुनावी अवसर र वैदेशिक रोजगारीको वास्तविकता बीचको विरोधाभास उजागर गरेको छ।
