दोलखा — गृहमन्त्री ओमप्रकाश अर्याल ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतमा देखिएका कमजोरी सच्याएर यसपटकको निर्वाचन धाँधलीरहित बनाइने बताएका हुन्। मन्त्री अर्यालले निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउनेगरी सम्बद्ध अधिकारीलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
साथै उनले सामाजिक सञ्जालमा फैलिने गलत, मिथ्या र दुष्प्रचारबाट सचेत रहन र आ–आफ्नो निर्वाचन क्षेत्रमा तयारीमा जुट्न मतदातालाई आग्रह गरेका छन्। आज बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितको टोलीले गाउँपालिकाका मतदान केन्द्र अनुगमन गर्दै निर्वाचन सुरक्षाबारे छलफल गरेको थियो।
अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत प्रदीपजङग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, र बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा सहभागी थिए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले विगत निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर सबै सरोकारवालाहरूको सक्रिय सहभागितामा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आग्रह गरेका छन्। प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने ले निर्वाचनको वर्तमान अवस्था र सुरक्षा निकायबीचको समन्वयबारे जानकारी दिँदै विगतमा मतदानमा अवरोध गर्नेमाथि निगरानी बढाइएको जानकारी दिए।
बैतेश्वर गाउँपालिकामा ८ मतदानस्थल, २१ मतदान केन्द्र र १८ हजार ४२२ मतदाता रहेका छन्।
