काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी खटाइने भएका छन्। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिक मत हाल्ने १४३ अस्थायी केन्द्रमा यी कर्मचारी खटाइने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ९ जना, र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा ८ जना कर्मचारी खटाइने व्यवस्था छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले प्रशिक्षण प्राप्त गरेपछि, अन्य कर्मचारीलाई केन्द्रमै मतदान अधिकृतले प्रशिक्षण दिने प्रावधान राखिएको छ।
निर्वाचन सामग्री र मतपत्र बिहीबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा वितरण भइसकेको निर्वाचन आयोगले जनाएको छ।
