इटहरी — मोरङको उर्लाबारी नगरपालिका–१० घर भएका एक युवक सुनसरीको इटहरीमा लागुऔषधसहित पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका–४ आइतबारे टोल बस्ने १९ वर्षीय आकाश कार्की लाई बिहीबार राति करिब ९ः४० बजे प्रहरीले नियन्त्रणमा लिएको हो। उनी हाल इटहरी–४ मै डेरा गरी बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कार्की बस्ने कोठामा छापा हानेको थियो। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्का का अनुसार कोठा खानतलासीका क्रममा ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने ३ ग्राम ५ सय ८० मिलिग्राम पदार्थ बरामद गरिएको छ।
बरामद लागुऔषधसहित कार्कीलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध लागुऔषध ऐनअनुसार मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
