काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खातामा निगरानी बढाएको छ। निर्वाचन खर्च पारदर्शी बनाउन बैंकिङ प्रणालीमार्फत खर्च गर्नुपर्ने प्रावधान उल्लङ्घन गर्ने उम्मेदवारको गतिविधि बढेपछि यस्तो कदम उठाइएको हो।
आयोगले राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक बैंकिङ माध्यमबाट खर्च गर्ने बारे ध्यानाकर्षण गराए पनि धेरैले बैंक बाहिर खर्च गरेको पाइएको थियो। यसलाई मध्यनजर गर्दै आयोगले परिवारसहितको खातामा निगरानी बढाएको जनाएको छ।
निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबरा ले बैंक खातामार्फत खर्च नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लङ्घनको आधारमा प्रचलित कानूनअनुसार कारबाही गरिने बताए।
उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भैरहेको छ। आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह समेत गर्नुभयो।
