सिरहा — गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा आज टिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान प्रदेश २–०–००१ क ००४५ नम्बरको टिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा विद्युत् प्रसारण लाइनसँग छोएर करेन्ट लागेको थियो। यस क्रममा टिपरमा आगलागीसमेत भएको थियो।
गम्भीर घाइते भएका सन्तोष साह लाई तत्काल उद्धार गरी स्थानीय हेल्थ केयर अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र आगो नियन्त्रणमा लिएको जनाएको छ। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको छ।
