किभ — जारी युद्धका बीच रुस र युक्रेनले एकअर्काका सैनिकका शव साटासाट गरेका छन्। रुसले १ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गरेको र बदलामा ३५ रुसी सैनिकका शव प्राप्त गरेको जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन का वरिष्ठ सहयोगी भ्लादिमिर मेदिन्स्की ले टेलिग्राममार्फत छोटो वक्तव्य जारी गर्दै शव आदान–प्रदान भएको जानकारी दिएका हुन्। उनले थप विवरण खुलाएका छैनन्, तर ट्रकबाट शव झारिँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए।
केही घण्टापछि युक्रेनले पनि १ हजार शव प्राप्त गरेको पुष्टि गर्दै ती रुसी पक्षको पूर्व जानकारीअनुसार युक्रेनी रक्षकहरूका हुन सक्ने जनाएको छ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले जेनेभा वार्ताअघि रुसले युक्रेनका छ वटा क्षेत्रमा ४२० ड्रोन र ३९ मिसाइल प्रहार गरेको आरोप लगाएका छन्। उनका अनुसार उक्त आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन्।
जेनेभामा युक्रेनका मुख्य वार्ताकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दूतहरूसँग युद्धपछिको पुनर्निर्माणसम्बन्धी आर्थिक योजनाबारे छलफल गरेका छन्। साथै, द्वन्द्व अन्त्यका लागि अमेरिकी पहलमा तेस्रो चरणको त्रिपक्षीय वार्ताको तयारी भइरहेको बताइएको छ, जसमा रुसी पक्षसमेत सहभागी हुने अपेक्षा गरिएको छ।
२०२२ फेब्रुअरी २४ मा रुसले पूर्णस्तरमा आक्रमण सुरु गरेपछि जारी युद्ध अहिले पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस अवधिमा दुवै पक्षले हजारौँ सैनिकका शव साटासाट गरिसकेका छन्।
