काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल ले जेन–जी घटनासम्बन्धी BBC ले सार्वजनिक गरेको डकुमेन्ट्रीबारे टिप्पणी गरेका छन्।
पोखरेलले उक्त डकुमेन्ट्री सामान्य सञ्चार सामग्री नभई भूराजनीतिक चलखेलको प्रमाण भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।”
उनले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरेका छन्। “चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो?” भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँ गर्नुपर्ने बताएका छन्। साथै, नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको उल्लेख गर्दै सूचना स्वतन्त्र हुनुपर्ने, तर त्यसको समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने बताएका छन्।
उनले भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन आह्वान गर्दै सचेत हुन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह गरेका छन्।
