काठमाडौँ — आज मगर समुदायले देशैभर विभिन्न कार्यक्रम आयोजना गरी मगर एकता दिवस मनाइरहेका छन्। मगर जातिको अधिकार, पहिचान र अस्तित्वको संरक्षणका लागि एकजुट भएको ऐतिहासिक दिनको स्मरणस्वरूप प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ।
वि.सं. २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा देशभरका मगर समुदायका प्रतिनिधिहरू भेला भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरिएको थियो। सोही दिनको सम्झनामा मगर समुदायले यसलाई ‘मगर एकता दिवस’का रूपमा मनाउँदै आएका छन्।
दिवसको अवसरमा मगर बाहुल्य क्षेत्रहरूमा सांस्कृतिक कार्यक्रम, र्याली, सभा तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिन्छ। मगर समुदायको उल्लेख्य बसोबास रहेका केही स्थानीय तहहरूले आज सार्वजनिक बिदासमेत दिएका छन्।
मगर समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि यस दिवसलाई एकताको प्रतीकका रूपमा मनाउँदै आएका छन्।
