सर्लाहीको मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक जनालाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतो रहेका छन्। घटनामा संलग्न रहेको आशंकामा उनलाई भारतीय सुरक्षा निकायसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा घर भई हाल मलंगवामा डेरा गरी बस्दै आएका यादवमाथि गत फागुन ३ गते आफ्नै डेरामा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महतोले भारतीय ‘सुटर’ प्रयोग गरी हत्या गराएको हुनसक्ने आशंका गरिएको छ। मृतक यादव र महतो दुवै लोकसेवा आयोगमार्फत एउटै पदका प्रतिस्पर्धी रहेको खुलेको छ।
सरकारी सेवामा नियुक्ति प्रक्रियासँग जोडिएको विषय नै घटनाको कारण हुनसक्ने भन्दै प्रहरीले सोही कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको छ। घटनाबारे विस्तृत जानकारी दिन आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
