काठमाडौँ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको बताएका छन्।
कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङमा सचिव राउतले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिए। यस निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुनेछन्, जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष छन्। मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन्। साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले बताए। निर्वाचन आचारसंहिता पालन सुनिश्चित गर्न जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन्।
मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालित छन्। निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ।
कुटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिएलगत्तै गणना सुरु हुने र दुर्गम क्षेत्र बाहेक अन्य स्थानमा १–३ दिनभित्र नतिजा आउने अपेक्षा रहेको बताए। विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूको लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उनले स्पष्ट पारे।
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।
