मुगु । आगामी सात दिनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले मुगु जिल्लाका उच्च हिमाली तथा दुर्गम क्षेत्रहरूमा गस्ती तीव्र बनाएको छ।
भौगोलिक रूपमा कठिन र सडक सञ्जालको अभाव भएका मुगुम–कार्मारोङ गाउँपालिका अन्तर्गत मुगुम, डोल्फु लगायतका बस्तीमा सेनाको उपस्थितिलाई सुदृढ पारिएको छ। रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्री हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खड्ग बहादुर श्रेष्ठका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हिमाली बस्तीमा घोडा चढेर नियमित तथा विशेष गस्ती सञ्चालन गरिएको छ।
हालसम्म मुगु जिल्लाभित्रका सबै मतदान स्थलहरूमा सुरक्षा निरीक्षण र गस्ती सम्पन्न भइसकेको छ। पैदल मार्ग मात्र उपलब्ध क्षेत्रहरूमा समेत घोडाको प्रयोग गरी सुरक्षा पहुँच सुनिश्चित गरिएको छ।
स्थानीय बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउने र कुनै अवाञ्छित गतिविधि हुन नदिन पूर्वतयारी स्वरूप गस्ती बढाइएको सुरक्षा स्रोतले जानकारी दिएका छन्। निर्वाचन अवधिभर संवेदनशील तथा विकट क्षेत्रहरूमा निगरानी निरन्तर रहने व्यवस्था गरिएको छ।
मुगु जस्तो दुर्गम हिमाली जिल्लामा मौसम र भौगोलिक कठिनाइका बाबजुद सुरक्षा संयन्त्र सक्रिय राखिँदा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।
