नवलपरासी । प्रतिनिधि सभाको निर्वाचन हुन एक साता बाँकी रहँदा नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। निर्वाचनको मुखैमा भएको यो प्रवेशलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
ठकुरीलाई नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले पार्टी प्रवेश गराएका हुन्। नवलपरासी बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा उनले ठकुरीलाई खादामाला लगाएर स्वागत गरे। कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
चुनावी अभियान तीव्र भइरहेका बेला जिल्लास्तरमै रास्वपाको नेतृत्व सम्हालिरहेका व्यक्ति कांग्रेसमा प्रवेश गर्नुले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ। कांग्रेस नेताहरूले ठकुरीको प्रवेशले पार्टीलाई थप बल पुग्ने बताएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
