रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनमा होमिएको बताएका छन्।
बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्रा सत्ता प्राप्तिका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारे।
धमलाका अनुसार वर्तमान प्रधानमन्त्री सुशीला कार्की तथा ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए। “मन्त्री पद मेरो लागि ठूलो कुरा होइन। म सत्ताका लागि होइन, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ,” उनले भने।
आफूलाई पद र शक्तिको कुनै लालसा नभएको उल्लेख गर्दै उनले विकासको एजेन्डासहित रौतहट आएको बताए। रौतहटको गरिबी र अशिक्षा अन्त्य गर्न सक्रिय भूमिका खेल्ने र देशलाई नयाँ दिशा दिने आफ्नो लक्ष्य रहेको उनले बताए।
बिहानदेखि मध्यरातसम्म जनताको घरदैलोमा पुगेर समस्या सुन्दै आएको उल्लेख गर्दै धमलाले जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताए।
उनी आम जनता पार्टीबाट मोबाइल फोन चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन्। उक्त पार्टीका अध्यक्ष प्रभु साह हुन्।
पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेका धमलाको उम्मेदवारीसँगै रौतहट–४ को चुनावी माहोल थप रोचक बनेको छ। उनले आफू विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने तथा भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
