काठमाडौँ – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाबाट जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशी का अनुसार हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।
आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधेको छ। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आवद्ध पत्रकारलाई प्रेस काउन्सिल नेपालमार्फत् कारबाहीका लागि जानकारी पठाइएको छ। यसैगरी, मत सर्वेक्षणको नाममा दल र उम्मेदवार विशेष निर्वाचित हुँदै भनी समाचार सामग्री प्रकाशन गरेको सेतोपाटी अनलाइन लाई पनि स्पष्टीकरण सोधिएको छ।
जिल्लास्तरमा पनि निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ। प्राप्त ५४ वटा जवाफको अध्ययन भइरहेको आयोगले जनाएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय र जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको छ।
७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आर्थिक बाहेकका अन्य विषयमा, र प्रमुख कोष नियन्त्रक आर्थिक विषयमा अनुगमन गरी आचारसंहिता पालनाको सुनिश्चितता गरिरहेका छन्। जिल्लास्तरमा आएका उजुरीमा स्पष्टीकरण मागेर दोषी देखिएकालाई कानुनी कारबाही अघि बढाइएको छ। आयोगले छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालनामा प्रतिबद्ध बनाउने कार्य प्रभावकारी रुपमा भइरहेको जनाएको छ।
