काठमाडौँ – निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यस्तै, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने उद्देश्यले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिन प्रयोगका लागि पास प्राप्त सवारीबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने जानकारी आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले दिनुभयो।
मतदानको मितिभन्दा सात दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मुलुकभर मादकपदार्थ बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने र ७७ वटै जिल्लामा यसका लागि निगरानी गर्ने निर्णय पनि भएको छ। जिल्लास्तरमा आचारसंहिता अनुगमन समितिले निषेध गरिएका कार्य हुन नदिन तथा भए/गरेको पाइएमा कानुनअनुसार कारबाही गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन सुरक्षाको लागि फागुन १८ गते राति १२ बजेदेखि लागू हुने प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सञ्चालनमा राख्ने व्यवस्था मिलाइएको छ र टिकट भएका यात्रुलाई विमानस्थल–बसोबास गर्ने होटलको लागि आवश्यक सवारी प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
मतदाताले मतदान गर्न आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। सवारी पास वितरणका लागि आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट चार जना कर्मचारीको टोली तोकिएको छ।
निर्वाचन आयोगले सम्पूर्ण सरोकारवालाहरूमाझ सहजीकरण र समन्वय सुनिश्चित गर्न आवश्यक निर्देशनसमेत जारी गरेको छ।
