काठमाडौं – काठमाडौंका कांग्रेस उम्मेदवारहरूले आज संयुक्त रूपमा भिजन १० सार्वजनिक गर्ने भएका छन्। काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री प्रदीप पौडेल को नेतृत्वमा उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पारिएको छ।
संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले साझा विकासको मार्गचित्र र प्रतिबद्धता आज सार्वजनिक गर्ने तयारी गरेका छन्। महामन्त्री पौडेलका अनुसार यातायात, पूर्वाधार र अन्य महत्त्वपूर्ण मुद्दामा उम्मेदवारहरूबीच परामर्शपछि खाका तयार पारिएको हो।
पौडेलले भने, “समग्र उपत्यकाको विकास हाम्रो प्राथमिकतामा छ। एक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ।”
कार्यक्रममा तीन वटै जिल्लाका उम्मेदवारहरू उपस्थित हुनेछन्। नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्य का अनुसार कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको विशालनगरस्थित भाटभटेनीमा आयोजना हुनेछ।
