इटहरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१३ प्रगति टेक्स्टायल अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र खड्का का अनुसार गएराती करिब ९:३० बजे विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१ च ७५०५ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द शाह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा राति करिब ११:२० बजे मृत्यु भएको पुष्टि भएको छ।
कार चालक इटहरीका २२ वर्षीय बिकी विश्वकर्मा को हातमा चोट लागेको छ र उनको बिराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पुलिसका अनुसार कारले पैदलयात्रीलाई ठक्कर दिएको क्रममा अनियन्त्रित भई इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ४८९८ नम्बरको ट्याम्पुलाई समेत ठक्कर दिएको थियो। ट्याम्पु चालक वसन्त घिसिङ र ट्याम्पुमा सवार प्रेमकुमार गुरुङ घाइते भएका छन्। घाइते दुवैजनाको बिराट टिचिङ हस्पिटल मा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
