काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र न्यायाधीशहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशकसहित ६ जना र वर्ल्ड डिष्ट्रीब्युसन नेपाल प्रालिलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आरोप अनुसार सूचना प्रविधि केन्द्रका लागि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा गुणस्तरहीन सामग्री आपूर्ति गरी राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्याइएको बताइएको छ।
मुद्दामा पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठ विरुद्ध दावी गरिएको छ। उनीहरूमाथि आर्थिक वर्ष ०७६-७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेशन भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ।
अख्तियारको आरोप अनुसार पूर्वाधारको आपूर्ति, डेलिभरी, स्थापना र सञ्चालनका लागि गुणस्तरहीन प्रोसेसर प्रयोग गरी १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने–दिने कार्य गरिएको थियो। उच्च कम्प्युटर पूर्वाधार खरिदका लागि ३० करोड ९९ लाख रुपैयाँको लागत अनुमान तयार गरी २०७६ माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरिएको थियो।
पौडेल र अन्य प्रतिवादीले आपूर्तिकर्ता कम्पनीसँग मिलेमतोमा गुणस्तरहीन सामग्री आपूर्ति गर्न दिएर झुट्टा कागजातका आधारमा भुक्तानी गरेको आरोप छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको रूपमा पौडेलमाथि थप सजायको माग गरिएको छ।
