काठमाडौँ – कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ। केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा मृत्यु हुने घटनाको आधारमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना संकलन गरेको थियो। प्रारम्भिक ‘रेपिड एन्टिजेन’ परीक्षण पोजेटिभ आएको र त्यसपछि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाई पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशी ले जानकारी दिनुभयो।
अहिलेसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएको छ। जोशीका अनुसार रोग प्रारम्भिक चरणमा भए पनि किसानले समयमै जैविक सुरक्षा उपाय अपनाएनन् भने ठूलो आर्थिक क्षति हुन सक्ने चेतावनी दिएका छन्।
नमूना संकलन गरिएका फार्मका धनीहरूलाई सचेत गराउँदै संक्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। ‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा लाग्ने अत्यन्त संक्रामक र घातक रोग हो। संक्रमित बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म हुन सक्ने भएकाले पूरै फार्म क्षति हुन सक्ने जोखिम रहेको र किसानको वर्षौँको लगानी क्षणभरमै नष्ट हुन सक्ने बताइएको छ।
