पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन्। टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी छाडेको बताएका हुन्। उनले भने, “राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ। आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन। अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु।”
राजु राई २०७९ को निर्वाचनमा कास्की–१ बाट रास्वपा उम्मेदवार थिए र त्यतिबेला १०,९४१ मत प्राप्त गरेका थिए। सोही निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १५,८६४ मत ल्याएको थियो। धेरै मतदाताले उनलाई यसपटक पनि उम्मेदवार ठानेका थिए र उनले तयारी गरिरहेका थिए। तर उनले पार्टीमा नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने प्रवृत्तिले असन्तोष उत्पन्न गरेको बताए। उनका अनुसार, “पार्टी हाइज्याक भयो। टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ। सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ।”
हाल कास्की–१ क्षेत्रबाट खड्कराज पौडेल (गनेस) बालेन समूहको समर्थनमा टिकट पाएका छन्।
