झापा प्रहरीले सरकारी छाप तथा दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एक ठूलो गिरोहलाई भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र १ जना नेपाली नागरिकसहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल को टोलीले चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेका डब्लूबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्च्युनर र डब्लूबी ०६ यू ३००६ नम्बरको सुजुकी बलेनो गाडीलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा गिरोहको भण्डाफोर भएको हो। पक्राउ परेका अरिन्दम धरको साथबाट आन्तरिक राजस्व विभाग को नक्कली दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, भन्सार विभाग का कागज र नेपाल सरकारको निशाना छाप भएको स्ट्याम्प प्याड बरामद भएको छ भने सुमन सरकारको साथबाट संजय कुमार गिरीको नाममा बनाइएको नेपाल प्रहरी को प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) पदको नक्कली परिचयपत्र फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार गिरोहले ब्ल्याक मनी वा ठूलो रकम नेपाल सरकारले जफत गरेको नाटक गरी नोटको आकारका २३७ वटा सादा कागजका बन्डल तयार पारेर माथि र तल मात्र सक्कली नोट राखी फोटो तथा भिडियो खिचेर व्यापारीहरूलाई “जरिवाना तिरेपछि रकम फुकुवा हुन्छ, अहिले लगानी गरे ठूलो नाफा दिन्छौँ” भन्दै प्रलोभनमा पार्ने योजना बनाएको देखिएको छ; मेचीनगर–४ स्थित एक होटलमा डेढ महिनाअघि २१ वटा टिनका बाकसभित्र यस्ता बन्डल राखेर भिडियो समेत तयार गरिएको खुलेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर (४५), दिपा भौमिक (३६), सुमन सरकार (३५), नुर कलाम शेख (३७), अबेद अली होसैन (५२) र फारुक अज्मी (२०) तथा झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार समूहले नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि यस्ता स्क्याम सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ र किर्ते कागजातलाई सक्कली देखाउन नोटरी पब्लिकबाट प्रमाणीकरण गराउने योजना समेत बनाएको पाइएको छ; यस प्रकरणमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम लिखत सम्बन्धी कसुर (किर्ते) अन्तर्गत थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सरकारी कागजात किर्ते गरी ‘ब्ल्याक मनी’ नाटकमार्फत ठगी गर्ने गिरोह झापामा पक्राउ
झापा प्रहरीले सरकारी छाप तथा दस्तखत किर्ते गरी संगठित रूपमा ठगी धन्दा चलाउने एक ठूलो गिरोहलाई भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट–घोडामारा सडकखण्डबाट दुईवटा भारतीय विलासी गाडीसहित ६ जना भारतीय र १ जना नेपाली नागरिकसहित नियन्त्रणमा लिएको छ...
1 min read
Share
