नेपालगञ्ज – बाँके जिल्लामा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ। सतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिए पनि यस वर्ष ९२ प्रतिशत उपलब्धि हासिल भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य थियो। “केही अपवादका रूपमा छुट्नुभएको हुन सक्छ, तर समग्रमा एचपिभी खोप अभियान सफलतापूर्वक सम्पन्न गरेका छौँ,” उनले भने।
स्थानीय तहअनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१ जनालाई खोप लगाइएको छ। त्यस्तै बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डुडुवा गाउँपालिकामा ४२६ जनालाई खोप दिइएको छ। सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा र सबैभन्दा कम डुडुवा गाउँपालिकामा खोप लगाइएको गिरीले जानकारी दिए।
जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो। कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी, अघिल्लो वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित समूहमा समेटिएको थियो।
जनस्वास्थ्य अधिकृत गिरीका अनुसार एचपिभी खोपले भाइरसका १६ र १८ प्रकारबाट हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउँछ र यो सुरक्षित तथा प्रभावकारी मानिन्छ। नेपालमा औसतमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने तथ्याङ्क रहेको उनले बताए।
गत माघ २५ देखि फागुन ११ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत खोप दिइएको हो। गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई एचपिभी खोप लगाइएको थियो।
