काठमाडौँ – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.३० अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ४५ करोड रुपैयाँमा पुगेको छ। यसदिन ३३३ वटा धितोपत्रको एक करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भएको छ।
बुधबार १५७ कम्पनीको सेयरमूल्य बढ्दा ९० वटाको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १०–१० प्रतिशतले बढेको छ। साल्पा विकास बैंकको प्रतिकित्ता मूल्य ५३१ रुपैयाँ ४० पैसा र रिलायन्स स्पिनिङ मिल्सको ५१९ रुपैयाँ ४० पैसा कायम भएको छ।
यता हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेर ४७२ रुपैयाँमा झरेको छ। कुमारी सबल योजनाको इकाइ मूल्य ३.८१ प्रतिशतले घटेर ९ रुपैयाँ ३३ पैसा कायम भएको छ।
कारोबारका आधारमा आखुँखोला जलविद्युत अग्रस्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३५२ रुपैयाँमा २८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३.५६ प्रतिशतले घटेको हो। दोस्रो स्थानमा ङादी ग्रुप पावर रहेको छ, जसको ४३० रुपैयाँमा २५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकमध्ये कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी समूह बढेका छन्। जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ।
