कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभाव बलियो रहेकोले निर्वाचन उत्सुकताका साथ हेरिँदैछ।
अघिल्लो निर्वाचनमा एमालेकी नेत्री विद्या भट्टराई विजयी भएकी थिइन् भने रवीन्द्र अधिकारी २०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनमा भए पनि विद्या भट्टराईले जीत हात पारेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल र नेपाली कांग्रेसका श्रीनाथ बराल क्रमशः दोस्रो र तेस्रो भएका थिए।
यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई चुनौती दिने दाबी गरेको छ भने नेपाली कांग्रेसले आफ्नै चुनाव चिह्न प्रयोग गर्न पाएकोले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिने आशा गरेको छ। यहाँका मतदाता एमाले, कांग्रेस र रास्वपा बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गर्दै आएका छन्।
उम्मेदवारमध्ये नेकपा एमालेकी रश्मि आचार्य, नेपाली कांग्रेसका माधव बास्तोला, नेकपा (एकीकृत) का हेमबहादुर थापा, रास्वपा का उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङलगायत १७ जना मैदानमा छन्।
उम्मेदवारहरूले नयाँ पुस्ताले उठाएका भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र समृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। मतदाताले भरतपोखरी, कुर्लिङ र सिङगारेवासलगायत गाउँ–बस्तीमा आधारभूत पूर्वाधार निर्माणको माग गरेका छन्।
