शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आगामी फागुन २३ गतेदेखि बाघ गणना गर्ने तयारी सुरु गरिएको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्जका कर्मचारीहरू पनि खटिने भएकाले बाघ गणना निर्वाचनपछि गर्ने निर्णय गरिएको हो।’
उहाँले थपे, ‘२३ गतेदेखि शुक्लाफाँटा, लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरिनेछ।’
राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडाको कम्प्लेक्स नामकरण गरिएको क्षेत्रलाई २ गुणा २ किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको छ। निकुञ्जले बाघ विचरण गर्ने सम्भावित क्षेत्र पहिचान गरी हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गर्ने योजना बनाएको छ।
सन् २०२२ को गणनामा यस कम्प्लेक्समा ३६ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यसबेला क्यामेरामा कैद भएका १६ पोथी र १२ भालेसहित २८ बाघका तस्बिरहरू विश्लेषण गरेर ३६ वयस्क बाघ रहेको पुष्टि गरिएको थियो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो भए पनि आहारा प्रजातिको घनत्व पर्याप्त भएकोले यहाँ बाघको सङ्ख्या बढेको संरक्षण अधिकृतहरूले जनाएका छन्। निकुञ्जमा आहारा प्रजातिको घनत्व १४६ प्रति वर्गकिलोमिटर रहेको छ। वन्यजन्तु र दुर्लभ वनस्पतिको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।
यस गणनाले निकुञ्जभित्र बाघ संरक्षणको अवस्थाबारे थप सटीक तथ्यांक उपलब्ध गराउने विश्वास गरिएको छ।
