भोजपुरको पौवादुङमा अब स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुने भएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउन सकून् भन्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय धरानसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
सरकारको २०८२ कात्तिक १७ को निर्णयअनुसार, साविक करदाता सेवा कार्यालय भोजपुरबाट प्रदान हुँदै आएका केही सेवा अब स्थानीय तहबाटै उपलब्ध हुने सहमति भएको हो। यस व्यवस्थासँगै सेवाग्राहीले करसम्बन्धी कामका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
समझदारीअनुसार, गाउँपालिकाले आफ्ना क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्नेछ। त्यस्तै, स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध गराइनेछ। मूल्य अभिवृद्धि कर दर्ताका लागि आवश्यक कागजात सङ्कलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्र प्रक्रिया सहजीकरण गर्ने र कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने काम पनि गाउँपालिकाबाटै गरिने जनाइएको छ।
गाउँपालिकाले करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा पनि सहकार्य गर्नेछ। यसबाट स्थानीय करदाताले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने विश्वास गरिएको छ।
समझौताअनुसार, चैत ५ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ। गाउँपालिका अध्यक्ष किरण राईका अनुसार स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो। प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले पनि समझदारीपत्रमा उल्लेख भएका सबै सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए।
यो सहकार्यले राजस्व प्रशासनलाई नागरिकमैत्री बनाउने, सेवा प्रवाह छिटोछरितो बनाउने तथा सङ्घीय संरचनाअनुसार अधिकार कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
