सना । दक्षिणी यमनमा बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। मृतकमध्ये आठ महिला र बालबालिका रहेका छन्।
स्थानीय अधिकारीका अनुसार दुर्घटना मंगलबार अब्यान र शब्वा प्रान्त जोड्ने मुख्य सडक अन्तर्गत अल–महफद जिल्लाको लाहमार क्षेत्रमा भएको हो।
दुई सवारी एकआपसमा ठोक्किएपछि भीषण आगलागी भएको र सानो बस पूर्ण रूपमा जलेको बताइएको छ। आगलागीका कारण बसमा सवार कोही पनि जीवित बच्न नसकेको Anadolu Agencyले जनाएको छ।
सुरक्षा अधिकारीहरूको भनाइ उद्धृत गर्दै Reutersले खतरनाक मोडमा गलत ओभरटेकका कारण दुर्घटना भएको उल्लेख गरेको छ। बसमा इन्धनका रूपमा प्रयोग गरिएको ग्यासका कारण आगो चाँडै फैलिएको र बसभित्र रहेका सबै यात्रु जलेको जनाइएको छ।
हालका वर्षहरूमा यसलाई यमनको दोस्रो सबैभन्दा घातक सडक दुर्घटना मानिएको छ भने सन् २०२६ को अहिलेसम्मकै ठूलो दुर्घटना बताइएको छ। गत वर्ष अब्यान प्रान्तकै जोखिमपूर्ण पहाडी सडकमा भएको अर्को दुर्घटनामा १७ जनाको ज्यान गएको थियो।
यमनमा सडक दुर्घटनाबाट हुने मृत्यु दर उच्च रहेको छ। दुर्गम भूगोल, कमजोर सडक पूर्वाधार तथा सन् २०१४ देखि हुथी विद्रोही र सरकारी फौजबिच जारी द्वन्द्वका कारण सडक सञ्जाल गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।
