हुम्ला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ केन्द्रमा ३०० भन्दा कम मतदाता रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेका छन्। सबैभन्दा कम मतदाता ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालय मतदान केन्द्रमा छन्, जहाँ जम्मा ५४ मतदाता रहेका छन्। उक्त क्षेत्र सडक सञ्जालसँग जोडिएको छैन।
सर्केगाड गाउँपालिकामा ३०० भन्दा कम मतदाता रहेका तीन मतदान केन्द्र छन्। वडा नं. १ अन्तर्गत देबल आधारभूत विद्यालय, तुम्चमा २४०, धुमचुली आधारभूत विद्यालय, कल्लासमा २१६ र नीलकण्ठ प्रावि, फुचामा २८८ मतदाता रहेका छन्।
चङ्खेली गाउँपालिकामा पनि तीन मतदान केन्द्रमा ३०० भन्दा कम मतदाता छन्। डाँफे आधारभूत विद्यालय, नेप्कामा २४२, आधारभूत विद्यालय, मेखालामा १४३ र रामशाह आधारभूत विद्यालय, पिपलाङमा २१२ मतदाता रहेका छन्।
नाम्खा गाउँपालिकामा ३०० भन्दा कम मतदाता भएका आठ मतदान केन्द्र छन्। सबैभन्दा टाढा रहेको हिमशिखर प्रावि, तिलगाउँमा १३२, भृकुटी प्रावि, जाँङगाउँमा २४७ र सुनखानी प्रावि, हल्जीमा २९३ मतदाता रहेका छन्। तर यी गाउँहरूमा हाल १५–२० जनाबाहेक अधिकांश मतदाता जिल्ला सदरमुकाम वा अन्य सहरी क्षेत्रमा बस्दै आएका छन्।
यस्तै, अरनिको प्रावि, यारीमा १९५, खासरपानी प्रावि, मुचुमा २३४, हिमालय प्रावि, चालामा १५९, महाबौद्ध मावि, याल्वाङमा २८० र नमोडोछोमु प्रावि, ताङ्घीनमा १५९ मतदाता रहेका छन्। यी अधिकांश मतदान केन्द्रमा यतिबेला हिउँ जमेको छ। यारी र न्यालुको लेकमा परेको बाक्लो हिउँका कारण केही केन्द्रमा पुग्नसमेत कठिन भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताएका छन्।
जिल्लाको सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र खार्पुनाथ गाउँपालिका स्थित मालिका माध्यमिक विद्यालय, लालिमा हो, जहाँ १ हजार ६३ मतदाता रहेका छन्। त्यसपछि मष्टादेव आधारभूत विद्यालय, अदानचुलीमा ९७७ र कोट मावि, रोडीकोटमा ९३६ मतदाता रहेको निर्वाचन अधिकारी रोकायाले जानकारी दिए।
