काठमाडौँ । फरक राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचार–प्रसारमा अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
निर्वाचन आयोगका अनुसार सङ्घीय कानुन बमोजिम चुनावी प्रचार–प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसार गतिविधिलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। आयोगका अनुसार केही राजनीतिक दल वा उम्मेदवारको प्रचार–प्रसारमा अन्य दल, उम्मेदवार, दलका कार्यकर्ता वा आम नागरिकबाट अवरोध सिर्जना गरिएको भन्दै गुनासा तथा उजुरी प्राप्त भएका छन्।
राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन र सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धी निर्वाचन आचारसंहिता जारी भइसकेको छ। आचारसंहितामा कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने स्पष्ट व्यवस्था गरिएको छ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगले जनाएको छ।
