झापा । निर्वाचन प्रचार–प्रसारका क्रममा झापा क्षेत्र नम्बर ५ मा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन्।
बिहान ९ः३० बजे दमक–९ स्थित एक चिया पसलमा मतदाता भेटघाट कार्यक्रम राखिएको छ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्य रूपमा गौरीगञ्ज केन्द्रित रहनेछन्। गौरीगञ्जमा करिब सात घण्टाको अवधिमा १२ वटा टोलका मतदातासँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। बिहान ११ बजे सुरु हुने उक्त कार्यक्रम अपराह्न ५ बजेसम्म चल्नेछ।
यस क्रममा उनले गौरीगञ्ज–५ का श्यामा टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारलगायतका स्थानमा मतदातासँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा पनि मतदाता भेटघाट कार्यक्रम तय गरिएको छ।
कार्कीका अनुसार गौरीगञ्ज–३ अन्तर्गत बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलमा पनि मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ।
यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरिसकेका ओलीले आज पनि स्थानीय समस्या र मतदाताका गुनासा सुन्ने तथा समाधानका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको जनाइएको छ।
