गोरखा । गोरखाको बुंकोटमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८, बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ।
चट्याङ लागेर सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्ती मगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३, मूलपानी खुर्सानीटार (धादिङ) क्षेत्रमा चट्याङ लागेको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइए पनि दिलिशाको भने उपचारअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ।
