काठमाडौँ । काठमाडौँको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित ‘रोडलाइन प्यालेस होटल’को कोठा नं. १०५ बाट पीडितको उद्धार गरेको हो।
उक्त होटलका सञ्चालक शिवबहादुर घर्तीले पूर्णबहादुर बोहरालाई कोठाभित्र बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहरालाई सकुशल उद्धार गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिवबहादुर घर्तीलाई पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
