काठमाडौँ – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २१.६२ अंकले उकालो लाग्दै २६३८.६० विन्दुमा बन्द भएको हो।
परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। यसदिन ३२८ वटा धितोपत्रका ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भएका छन्।
मंगलबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई प्रतिकित्ता ४८३ रुपैयाँ १० पैसा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशतले बढेर ४७२ रुपैयाँ २० पैसा कायम भएको छ।
यता, नेपाल एसबिआई बैंकको सेयर मूल्य सर्वाधिक ४.५८ प्रतिशतले घटेर प्रतिकित्ता ४०८ रुपैयाँ ८० पैसा पुगेको छ। आरबिबी म्युचुअल फण्ड–२ को मूल्य ३.४० प्रतिशतले घटेर प्रतिकित्ता ९ रुपैयाँ ६६ पैसा कायम भएको छ।
कारोबार रकमका आधारमा मंगलबार एसवाई प्यानल अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १ हजार ८७१ रुपैयाँका दरले ३७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ५.७१ प्रतिशतले बढी हो।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा आखुँखोला जलविद्युत रहेको छ। सो कम्पनीको प्रतिकित्ता ३६५ रुपैयाँका दरले २४ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेसँगै समग्र नेप्से उकालो लागेको हो। यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले बढेको छ।
