गुल्मी – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन्।
महिलाको नेतृत्व रहने मतदान केन्द्रमा रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय (क) केन्द्र र रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माध्यमिक विद्यालय (ख) केन्द्र रहेका छन्। ती केन्द्रहरूमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिए।
सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय (क) केन्द्रमा मतदान अधिकृत सृजना मिश्र र भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृत पुष्पा रायमाझी अर्याल रहनेछन्।
जिल्ला निर्वाचन कार्यालयले दुवै निर्वाचन क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ। तालिमपश्चात निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा कुल १ हजार ७१६ कर्मचारी परिचालन गरिएका छन्। जिल्लाका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी तथा २८५ सहयोगी कर्मचारी खटाइने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए।
जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ।
दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ लाख १५ हजार २१० महिला, १ लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन्।
